काठमाडौं,२७ फागुन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। फागुन २१ गते सम्पन्न निर्वाचनको मतगणनामा अब केही मत मात्रै गन्न बाँकी रहेको जनाइएको छ।
पछिल्लो विवरण अनुसार प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि सबैभन्दा अगाडि देखिएको छ। रास्वपाले हालसम्म ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ।
त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत पाएको छ भने तेस्रो स्थानमा नेकपा एमालेले १४ लाख ४८ हजार ३१८ मत प्राप्त गरेको छ। चौथो स्थानमा रहेको नेकपाले ८ लाख ३ हजार ६२७ मत ल्याएको छ।
पाँचौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत प्राप्त गर्दा छैटौँ स्थानमा रहेको राप्रपाले ३ लाख २९ हजार ४५७ मत ल्याउँदै थ्रेसहोल्ड पार गरेको छ।
हालसम्म समानुपातिकतर्फ एक करोड ७ लाख ३० हजार ५५१ मत गणना भइसकेको छ। प्रत्यक्षतर्फको निर्वाचन परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ।
यसअघि राष्ट्रिय दल बनेका मधेश केन्द्रित दलहरू भने यस पटकको मतगणनामा निकै पछि परेका छन्। जसपा नेपालले १ लाख ७४ हजार ३०६ मत पाउँदा राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४९७ मत प्राप्त गरेको छ भने जनमत पार्टीले ७८ हजार ९४९ मत पाएको छ।




