बीरगन्ज, २८ फागुन । बीरगन्ज महानगरपालिका–१६ स्थित फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) परिसरमा निर्माण भइरहेको प्लास्टिक फोहोर प्रशोधन प्लान्टको काम अब अन्तिम चरणमा पुगेको छ। यो प्लान्टबाट महानगर क्षेत्रमा संकलित प्लास्टिक फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनः प्रयोगयोग्य सामग्रीमा रूपान्तरण गर्ने उद्देश्य राखिएको छ।
महानगरपालिकाको वन तथा वातावरण शाखा प्रमुख राकेश साहका अनुसार, सूर्य नेपाल प्रालिको करिब ४ करोड रुपैयाँको लगानीमा प्लान्ट निर्माण भइरहेको छ। हाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
निर्माणाधीन प्लान्टले दैनिक करिब २० टन प्लास्टिकजन्य फोहोर प्रशोधन गर्ने क्षमता राख्नेछ। वीरगन्ज महानगर क्षेत्रमा हाल दैनिक ६०–६५ टन फोहोर संकलन भइरहेको छ। तीमध्ये प्लास्टिक छुट्याएर प्लान्टमार्फत प्रशोधन गरिनेछ।
यो परियोजना गत असोजमा बीरगन्ज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रालिबीच भएको त्रिपक्षीय सम्झौतापछि अघि बढाइएको हो। सम्झौताअनुसार निजी क्षेत्रको लगानी र सहकार्यमा महानगरको फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
महानगर प्रमुख राजेशमान सिंहका अनुसार, फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउने नीति अनुरुप प्लान्ट निर्माण गरिएको हो। सञ्चालनमा आएपछि महानगरभित्र संकलित प्लास्टिक फोहोर छुट्याएर प्रशोधन गरिनेछ र पुनः प्रयोग गर्न मिल्ने सामग्री उत्पादन गरिनेछ।
बुधबार महानगर प्रमुख सिंह, सूर्य नेपाल प्रालिका उद्योग प्रमुख सुरेश काजी महर्जन र अन्य टोलीले निर्माण स्थलमा पुगेर प्राविधिक पक्ष र आगामी सञ्चालन प्रक्रियाबारे स्थलगत जानकारी लिएका थिए।
निर्माण सम्पन्न भएपछि प्लान्ट वीरगन्ज महानगरपालिकालाई हस्तान्तरण गरिने सूर्य नेपाल प्रालिका उद्योग प्रमुख महर्जनले जानकारी दिए।




