spot_img

चुनाव जितेपछि सांसद कानुको पहिलो कार्यक्रम मानव सेवा आश्रममा

spot_img
spot_img

वीरगन्ज,२८ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुशील कुमार कानुले आफ्नो पहिलो सार्वजनिक कार्यक्रमका रूपमा वीरगन्जस्थित मानव सेवा आश्रमको अवलोकन गरेका छन्।

बिहीबार बिहान पर्सा–४ का नवनिर्वाचित सांसद टेकबहादुर शाक्यसहित आश्रम पुगेका कानुले त्यहाँ आश्रय लिएर बसेका ६० भन्दा बढी असहाय नागरिकसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे जानकारी लिएका थिए। सो क्रममा उनी आश्रमका आश्रितहरूसँगै बिहानको भोजन कार्यक्रममा पनि सहभागी भएका थिए।

कार्यक्रमअघि सांसद कानुले आश्रमका संस्थापक, संरक्षक तथा व्यवस्थापन पक्षसँग भेटेर आश्रमको वर्तमान अवस्था, सञ्चालनमा देखिएका चुनौती र आवश्यक सहयोगबारे जानकारी लिएका थिए।

यस अवसरमा उनले संघीय तथा स्थानीय सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन आफू सदैव सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “वडा अध्यक्ष हुँदा पनि समाजका लागि विभिन्न काम गरेको थिएँ। अहिले सांसद बनेपछि जिम्मेवारी अझ बढेको छ। मानव सेवा आश्रमलाई आवश्यक पर्ने सहयोगमा म सधैं साथ दिन तयार छु।”

कानुले मानव सेवा आश्रमले समाजका असहाय, बेवारिसे तथा सहाराविहीन नागरिकहरूको संरक्षण गर्दै मानवताको उच्च आदर्श प्रस्तुत गरेको उल्लेख गर्दै यस कार्यलाई अत्यन्त प्रशंसनीय र प्रेरणादायी बताए।

यसै अवसरमा पर्सा–४ का नवनिर्वाचित सांसद टेकबहादुर शाक्यले पनि आश्रमको सेवामूलक कार्यको प्रशंसा गर्दै आश्रमलाई सहयोगस्वरूप १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने घोषणा गरे। कार्यक्रममा रास्वपाका युवा नेता सुधिर पटेल, आश्रमका संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक शाक्य, संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारूलगायतको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय