बीरगन्ज,२८ फागुन । पश्चिम एसियामा बढ्दो तनावको अवस्थालाई ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा तथा सम्भावित उद्धारका लागि सरकारले सक्रियता बढाएको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा बुधबारसम्म ६५ हजार ८८६ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्।
इजरायल र इरानबीच चर्किएको द्वन्द्वका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै फागुन १८ गतेदेखि उक्त अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो। कन्सुलर सेवा विभागका महानिर्देशक दुपर्दा सापकोटाका अनुसार प्राप्त विवरणहरूको अध्ययन गरी आवश्यकताअनुसार उद्धार तथा अन्य सहयोगका कार्यक्रम अघि बढाइनेछ।
यसैबीच, परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठन गरिएको इमर्जेन्सी रेस्पोन्स टिमले सम्बन्धित क्षेत्रमा रहेका नेपाली कूटनीतिक नियोगहरूलाई समस्यामा परेका नागरिकसँग निरन्तर सम्पर्कमा रहन र उनीहरूको मनोबल उच्च राख्न निर्देशन दिएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार विदेशस्थित नेपाली नियोगहरूले त्यहाँ रहेका नागरिकको सुरक्षा सुनिश्चित गर्न समन्वयात्मक भूमिका निभाइरहेका छन्। मन्त्रालयले पश्चिम एसियामा रहेका नेपाली नागरिकलाई संयमित रहन आग्रह गर्दै स्थानीय कानुनविपरीतका अडियो, भिडियो वा तस्बिर खिच्ने तथा सामाजिक सञ्जालमा साझा नगर्न पनि सचेत गराएको छ।





