बीरगन्ज,२८ फागुन । पर्साको ठोरी गाउँपालिकामा पछिल्लो समय जंगली हात्ती र बाघको गतिविधि बढेपछि स्थानीयवासी त्रासमा बस्न बाध्य भएका छन्। मानव बस्ती नजिकै वन्यजन्तुको आवतजावत बढ्दै जाँदा यहाँ मानव–वन्यजन्तु द्वन्द्व बढ्ने चिन्ता व्यक्त गरिएको छ।
स्थानीयका अनुसार ठोरी–२ हनुमाननगर आसपासको क्षेत्रमा केही दिनयता जंगली हात्ती नियमित रूपमा देखिन थालेको छ। प्रायः रातको समयमा चितवन राष्ट्रिय निकुञ्जतर्फको जंगलबाट निस्किएर मानव बस्ती नजिकसम्म आउने गरेको बताइएको छ।
स्थानीय बासिन्दा चिरञ्जीवी सापकोटाका अनुसार हात्ती अहिलेसम्म बस्तीभित्र प्रवेश नगरे पनि बस्ती नजिकसम्म आइपुगेकाले जुनसुकै बेला क्षति हुन सक्ने आशंका बढेको छ। उनका अनुसार अहिले बालीको सिजन नभए पनि हात्तीको उपस्थितिले स्थानीयमा डर बढेको छ।
ठोरी क्षेत्र भौगोलिक रूपमा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भले घेरिएको क्षेत्र भएकाले यहाँ वन्यजन्तुको आवागमन धेरै हुने गरेको स्थानीय बताउँछन्।
हात्ती मात्र होइन, चित्तल, बँदेल र नीलगाईजस्ता वन्यजन्तुले पनि बर्सेनि स्थानीय किसानको बालीनालीमा क्षति पुर्याउने गरेका छन्। किसानहरूका अनुसार धान, मकैलगायतका बाली पूर्ण रूपमा भित्र्याउन पाउने अवस्था कमै हुने गरेको छ। वन्यजन्तुले खेतबारीमा पस्दा किसानले गरेको लगानीअनुसार प्रतिफल पाउन कठिन हुने अवस्था दोहोरिँदै आएको छ।
यसैबीच ठोरी–१ गौतमनगरस्थित पूर्व हुलाकी सडक आसपास पछिल्लो करिब एक महिनादेखि बाघको गतिविधि पनि देखिन थालेको छ। स्थानीयले जडान गरेको सीसीटीभी क्यामेरामा बाघ सडक आसपास आवतजावत गरिरहेको दृश्य समेत कैद भएको बताइएको छ।
बाघ देखिएपछि साँझपख घरबाहिर निस्कन स्थानीय डराउन थालेका छन्। विशेषगरी बालबालिका तथा पशुचौपायाको सुरक्षालाई लिएर स्थानीय थप चिन्तित बनेका छन्।
समयमै वन्यजन्तु व्यवस्थापनका प्रभावकारी उपाय नअपनाइए मानव–वन्यजन्तु द्वन्द्व अझ बढ्ने स्थानीयको चिन्ता छ। अहिले हात्ती र बाघको गतिविधि बढेपछि ठोरी क्षेत्रका बासिन्दा निरन्तर त्रासको वातावरणमा बस्न बाध्य भएका छन्।




