बीरगन्ज,२८ फागुन । नेपालको प्रमुख आर्थिक प्रवेशद्वार तथा औद्योगिक केन्द्रका रूपमा परिचित वीरगञ्जमा रहेको बीरगन्ज उद्योग वाणिज्य सङ्घ को ५०औँ वार्षिक साधारणसभा बिहीबार विशेष कार्यक्रमका बीच सुरु भएको छ।
साधारणसभाको उद्घाटन सत्रमा प्रमुख अतिथि डा. विश्वराज पौडेल ले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।
कार्यक्रममा सङ्घका अध्यक्ष हरि गौतम ले स्वागत मन्तव्य व्यक्त गर्दै मुलुकको अर्थतन्त्र अहिले गम्भीर मन्दीको अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले नेपालको अर्थतन्त्र ‘बिरामी’ अवस्थामा रहेको टिप्पणी गर्दै समयमै उचित नीतिगत उपचार नगरे मुलुक अझ गहिरो आर्थिक संकटमा फस्ने चेतावनी दिए।
अध्यक्ष गौतमले टालटुले नीति वा अल्पकालीन समाधानले अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सुधार गर्न नसकिने उल्लेख गर्दै सरकारले समग्र आर्थिक नीतिको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार पछिल्ला वर्षहरूमा विशेषगरी तराईका औद्योगिक कोरिडोरमा रहेका उद्योगहरूको अवस्था झन् कमजोर बन्दै गएको छ। धेरै उद्योगहरू अहिले ३० देखि ३५ प्रतिशत उत्पादन क्षमतामा मात्रै सञ्चालन भइरहेका छन् भने कतिपय उद्योग बैंकको ब्याज तिर्ने र अस्तित्व जोगाउने उद्देश्यले मात्रै सञ्चालन भइरहेको अवस्था रहेको उनले बताए।
स्वदेशी उद्योग संरक्षण तथा वैदेशिक लगानी आकर्षित गर्ने स्पष्ट नीति र स्थिर कानुनी व्यवस्था अभावका कारण लगानीकर्तामा निराशा बढेको उनको भनाइ छ। कठोर श्रम ऐन, झन्झटिलो प्रशासनिक प्रक्रिया र अव्यावहारिक कानुनी व्यवस्थाका कारण वैध रूपमा व्यवसाय गर्ने उद्योगी–व्यवसायी समस्यामा परेको र अवैध कारोबारलाई अप्रत्यक्ष रूपमा प्रश्रय मिलिरहेको उनले बताए।
सङ्घले आफ्नो ८२ वर्षे यात्रामा निजी क्षेत्रको हकहितका लागि नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गर्दै अध्यक्ष गौतमले संस्थाभित्र गरिएको आन्तरिक सुधारबारे पनि जानकारी दिए। विगतमा घाटामा रहेको सङ्घको वित्तीय अवस्था यस वर्ष नाफामा ल्याउन सफल भएको, कर्मचारी व्यवस्थापन सुधारिएको तथा वित्तीय अनुशासनलाई कडाइका साथ लागू गरिएको उनले बताए।
वीरगञ्जलाई आयात–निर्यात केन्द्रमा मात्र सीमित नराखी उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले ‘स्टार्टअप तथा इनोभेशन सेन्टर’ स्थापना गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए। यसले स्थानीय युवालाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने दिशामा प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।
त्यसैगरी महिला सशक्तीकरणलाई प्रोत्साहन गर्न राष्ट्रिय महिला सम्मेलन आयोजना गर्ने तथा गार्मेन्ट सिलाई तालिम कार्यक्रम सञ्चालन गरी सामाजिक उत्तरदायित्व र आर्थिक विकासलाई जोड्ने प्रयास गरिएको उनले बताए।
अध्यक्ष गौतमले आगामी बजेटमार्फत मुलुकको मानव पुँजीलाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दै ५०औँ साधारणसभाबाट पारित हुने आर्थिक तथा नीतिगत प्रस्तावहरूलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। साथै बारा–पर्सा क्षेत्रका महत्त्वपूर्ण विकास आयोजनाहरू छिटो अघि बढाउन पनि उनले सरकारसँग विशेष आग्रह गरेका छन्।
हाल उद्घाटन सत्र जारी रहेको उक्त साधारणसभामा उद्योगी–व्यवसायी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको छ।




