बीरगन्ज,२८ फागुन । रामाकान्त चौरसियाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा गरेको खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी बाट पर्सा–३ मा निर्वाचित भएका चौरसियाले बिहीबार आफ्नो चुनावी खर्चको विवरण निर्वाचन कार्यालय पर्सा मा पेश गरेका हुन्।
उनले बुझाएको विवरण अनुसार यसपटकको निर्वाचनमा कुल ११ लाख ६५ हजार ७४० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
खर्च विवरणअनुसार सबैभन्दा बढी रकम प्रचार–प्रसार सामग्रीमा ३ लाख ६५ हजार ५०० रुपैयाँ खर्च भएको छ। त्यस्तै वडास्तरीय प्रचार–प्रसार कार्यक्रममा ३ लाख ४९ हजार ७५० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
यसैगरी सवारी साधन तथा इन्धनमा २ लाख ८५ हजार रुपैयाँ, प्रचारका ब्यानरमा ९३ हजार २३० रुपैयाँ, नमूना मतपत्र, पोस्टर तथा पम्प्लेट छपाइमा ३५ हजार ७६० रुपैयाँ खर्च गरिएको विवरणमा जनाइएको छ। साथै गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा २६ हजार ५ सय रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चौरसियाले २९ हजार ६७९ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र चौधरी (नेपाली कांग्रेस) ले १६ हजार ३६६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे भने रुपेश कुमार पाण्डेय (नेकपा एमाले) ११ हजार ९१४ मतसहित तेस्रो स्थानमा रहेका थिए।




