spot_img

एउटै वडामा दुई सांसद, भाग्यमानी वडावासी

spot_img
spot_img

वीरगंज, २९ फागुन — पर्साको वीरगंज महानगरपालिका वडा नं. १० का दुई जना नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। सो वडाका स्थायी बासिन्दा सुशिल साह कानु पर्सा निर्वाचन क्षेत्र नं. २ बाट र रामाकान्त चौरसिया पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका यी दुवै नेताले पुराना तथा स्थापित राजनीतिक व्यक्तित्वलाई पराजित गर्दै संसद्मा प्रवेश गरेका हुन्।

पर्सा–२ बाट विजयी भएका सुशिल साह कानुले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अजय कुमार चौरसिया लाई पराजित गरेका हुन् भने पर्सा–३ बाट निर्वाचित रामाकान्त चौरसियाले कांग्रेसका अर्का नेता सुरेन्द्र चौधरी लाई फराकिलो मतान्तरले हराएका हुन्। आफ्नै वडाबाट दुई जना नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि वीरगंज–१० का बासिन्दाले खुसी व्यक्त गरेका छन्।

स्थानीयले अब यी दुबै सांसदले आफ्नो निर्वाचन क्षेत्रसँगै वडा नं. १० को विकासमा पनि विशेष ध्यान दिनुपर्ने अपेक्षा गरेका छन्। पर्सा–२ बाट निर्वाचित सुशिल साह कानु यसअघि वीरगंज महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष थिए। उनले आफ्नो कार्यकाल नसकिँदै पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए। त्यस्तै सोही वडाका स्थायी बासिन्दा रामाकान्त चौरसिया लामो समयदेखि निर्माण व्यवसायमा सक्रिय थिए।

उनले पहिलो पटक राजनीति प्रवेश गर्दै जनताको सेवा गर्ने उद्देश्यसहित प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए। स्थानीयवासी राकेश साह कानु ले एउटै वडाबाट दुई जना सांसद निर्वाचित हुनु गौरवको विषय भएको बताए। उनले दुबै नेतालाई बधाई दिँदै आफ्नो निर्वाचन क्षेत्रसँगै वीरगंज–१० को विकासमा पनि विशेष ध्यान दिन आग्रह गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय