बीरगन्ज,२९ फागुन । प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुकमा नयाँ सत्ता समीकरणबारे राजनीतिक गतिविधि तीव्र हुन थालेको छ। विभिन्न दलका शीर्ष नेताबीच सम्वाद र भेटघाटको क्रम पनि बढिरहेको छ।
यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोन सम्वाद भएको बताइएको छ। सम्वादका क्रममा दुवै नेताले निर्वाचनमा प्राप्त सफलताका लागि एक–अर्कालाई बधाई दिएका छन्।
यता, रास्वपाका वरिष्ठ नेता बालेन शाह र प्रचण्डबीच भेट भएको भन्ने चर्चा भने नेकपा स्रोतले अस्वीकार गरेको छ। नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यका अनुसार बालेनसँग प्रचण्डको हालसम्म कुनै औपचारिक भेट वा सम्वाद भएको छैन।
यसबीच, निर्वाचनपछि पहिलोपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पनि भेट भएको छ। ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रचण्ड भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेका बेला दुवै नेताबीच संक्षिप्त संवाद भएको हो।
लामो समयको राजनीतिक दूरी र निर्वाचनको प्रतिस्पर्धापछि भएको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। तर उक्त भेट मानवीय संवेदनाका कारण भएको र राजनीतिक विषयमा विशेष छलफल नभएको सचिव आचार्यले स्पष्ट पारेका छन्।
पछिल्ला गतिविधिलाई हेर्दा प्रचण्डले नयाँ र पुराना राजनीतिक शक्तिसँग समानान्तर रूपमा सम्बन्ध कायम राख्ने प्रयास गरिरहेको विश्लेषण गरिएको छ। रास्वपा सभापति रविसँगको टेलिफोन सम्वाद र ओलीसँगको भेटले आगामी सत्ता समीकरणका सम्भावनालाई खुला राखेको संकेत दिएको छ।
यद्यपि, निर्वाचन परिणाम सार्वजनिक भइसकेपछि पनि प्रचण्ड र नेपाली कांग्रेसका सभापति गगन थापाबीच हालसम्म कुनै औपचारिक सम्वाद वा भेटघाट भएको छैन। निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको रास्वपा र पुराना दलहरूबीचको राजनीतिक समीकरणले आगामी सरकार गठनको प्रक्रिया थप रोचक बन्ने अनुमान गरिएको छ।




