वीरगन्ज,२९ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटाले यसपालिको निर्वाचनमा गरेको खर्चको विवरण निर्वाचन कार्यालय पर्सामा बुझाएका छन्। रुंगटाका प्रतिनिधि पुरुषोत्तम प्रसाद कुर्मीमार्फत शुक्रबार बुझाइएको विवरण अनुसार, उनका कुल चुनावी खर्च २१ लाख ५० हजार रुपैयाँ मात्रै रहेको छ।
विवरणअनुसार रुंगटाले सबैभन्दा बढी खर्च प्रचार–प्रसार सामग्री छपाइ तथा खरिदमा ५ लाख १७ हजार ३६० रुपैयाँ, खाना र खाजामा ३ लाख ६६ हजार ९२४ रुपैयाँ, र सम्पर्क कार्यालय व्यवस्थापनमा ३ लाख २९ हजार ६५१ रुपैयाँ गरेको जनाएका छन्।
त्यसैगरी साधन भाडा र इन्धनमा २ लाख ९७ हजार ४५४ रुपैयाँ, सभा–गोष्ठी तथा अन्तरक्रियामा २ लाख ६० हजार ४५० रुपैयाँ, स्वयंसेवक परिचालनमा १ लाख ७० हजार रुपैयाँ, सामाजिक सञ्जाल व्यवस्थापनमा १ लाख ५४ हजार रुपैयाँ, मनोनयन दर्तामा १० हजार रुपैयाँ, मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ र विविध शीर्षकमा ९९ हजार ५१ रुपैयाँ खर्च भएको उल्लेख छ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाका बुद्धि प्रसाद पन्त (हरि पन्त) २७ हजार २७४ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्वमन्त्री प्रदीप यादव १३ हजार ३० मतसहित दोस्रो भए भने कांग्रेसका रुंगटा ११ हजार ८८५ मतसहित तेस्रो भएका थिए।




