जनकपुर,३० फागुन । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकारले अझै संविधानले सुनिश्चित गरेका सबै अधिकार प्राप्त गर्न नसकेको बताएका छन्। उनले विश्वका अन्य स्थानमा प्रहरी प्रशासन बिना कुनै पनि सरकार सञ्चालन नहुने भए पनि नेपालमा भने प्रदेश सरकारहरू यस्तो अवस्थाबाट गुज्रिरहेको बताए।
जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले संविधान लागू भएको आठ वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रदेश सरकारलाई आवश्यक अधिकार पूर्ण रूपमा हस्तान्तरण नभएको गुनासो गरे। उनका अनुसार प्रहरी प्रशासन प्रदेश मातहतमा नहुँदा प्रदेश सरकारलाई प्रभावकारी रूपमा काम गर्न कठिनाइ भइरहेको छ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले जनकपुरको तिरहुतिया गाछीमा दिएको अभिव्यक्तिको पनि स्मरण गरे। साहले “अब अधिकारका लागि होइन, पशुपति दर्शन गर्न मात्र आउनू” भनेको प्रसंग उल्लेख गर्दै यादवले प्रदेशलाई माग नगरी अधिकार दिन खोजिएकोप्रति धन्यवाद व्यक्त गरे।
मुख्यमन्त्री यादवले मधेस प्रदेशमा प्रहरीको भौतिक संरचना अत्यन्त कमजोर रहेको पनि बताए। माओवादी द्वन्द्वकालमा क्षतिग्रस्त भएका भवनहरूमा अझै पनि प्रहरीहरू बस्न बाध्य भएको उल्लेख गर्दै उनले ती संरचनाको पुनर्निर्माण र सुधार आवश्यक रहेको बताए।
उनले जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रहरीका सवारी साधनहरू जलाइएको तथा नष्ट गरिएको स्मरण गराउँदै त्यसको क्षतिपूर्ति गर्ने दायित्व पनि सरकारमाथि थपिएको बताए। प्रदेश प्रहरीलाई सशक्त र सुसम्पन्न बनाउन प्रदेश सरकार मात्र होइन, संघीय सरकारको पनि समान जिम्मेवारी रहेको उनले बताए।
सीमित स्रोतसाधनका बाबजुद प्रदेश सरकारले प्रत्येक वर्ष प्रहरीलाई सहयोग गर्दै आएको जानकारी दिँदै उनले सुरक्षा निकायप्रति आभार पनि व्यक्त गरे। साथै उनले २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन महत्वपूर्ण भूमिका खेल्ने सुरक्षा निकायको उच्च प्रशंसा गरे।




