बीरगन्ज,३० फागुन । शारीरिक स्वास्थ्य र सचेतना प्रवर्द्धन गर्न शनिबार बीरगन्जमा भव्य ‘वाकाथुन’ (पैदल यात्रा) कार्यक्रम सम्पन्न भएको छ। युवा उद्यमी मञ्च (एनवाईइएफ) बीरगन्जको आयोजनामा भएको कार्यक्रममा नगरबासीलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने सन्देश दिइएको थियो।
पैदल यात्रा बीरगन्जको ऐतिहासिक गहवामाई मन्दिर परिसरबाट सुरु भएर मुख्य सडकहरू हुँदै मकालु होटल चोक र घडिअर्वा चोक पार गर्दै पुनः माईस्थानमा समापन भएको थियो।
एनवाईइएफ बीरगन्जका अध्यक्ष अभिषेक प्रताप साहले कार्यक्रमबारे जानकारी दिँदै भने, ‘मानिसहरू अत्यधिक व्यस्त जीवनशैलीमा बाँधिँदै गएका छन्। यस्तो अवस्थामा स्वास्थ्यप्रति सचेतना बढाउन र नियमित शारीरिक गतिविधिको महत्व बुझाउन वाकाथुन आयोजना गरिएको हो।’
कार्यक्रममा बीरगन्ज महानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य विजयकुमार सरावगी,बीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवराज पाल, सहसचिव अनुप अग्रवाल, प्रभु हस्पिटलका सञ्चालक डा. मनोज गुप्ता लगायत विभिन्न क्षेत्रका उद्यमी र विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।
आयोजकका अनुसार कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहजनक सहभागिता देखिएको थियो र सहभागीहरूले पैदल यात्रामार्फत स्वास्थ्यप्रति सचेत रहन प्रेरणा पाए।




