काठमाडाैं,३० फागुन । सुनसरीको गढी गाउँपालिका–२ औरावनीबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ परेका छन्। प्रहरीले शिव महिमा मेडिकल हल सञ्चालन गर्दै आएकी मोरङको सुन्दरहरैंचा नगरपालिका–८ की ३२ वर्षीया मोनिका चौधरीलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले औरावनी चोकस्थित मेडिकल हलमा छापा मारेको थियो। जाँचका क्रममा प्रतिबन्धित लागूऔषध ट्रामाडोल ११० क्याप्सुल र स्पास्पेन २ हजार ८२० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त मेडिकल हलबाट अवैध रूपमा लागूऔषध बिक्री वितरण भइरहेको सूचना प्राप्त भएपछि अनुगमन तथा खानतलासी गरिएको थियो। सो क्रममा लागूऔषध फेला परेपछि सञ्चालक चौधरीलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकी चौधरीलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।




