काठमाडौं,३० फागुन । काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारी साधनका लागि इन्धनमा कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने व्यवसायीमाथि कडा निगरानी सुरु गरेको छ। महानगरले ग्यास उपलब्ध हुँदाहुँदै नभएको वा मूल्य बढी लिने, इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै उपभोक्तालाई फर्काउने जस्ता गुनासोहरू प्राप्त भएपछि निगरानी संयन्त्र सक्रिय बनाएको हो।
प्रशासन विभागका प्रमुख महेश काफ्लेले भने, “ग्यास छैन भन्ने गलत सूचना फैलाएर मूल्य वृद्धि गर्ने वा जनजीवनमा असहजता सिर्जना गर्नेमा कारबाही हुनेछ। नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिन्डर १ हजार ९१० रुपैयाँ तोकेको छ, यही मूल्यमा खरिद–बिक्री गर्न व्यवसायी र उपभोक्तालाई अनुरोध छ।”
उनले थपे, “ग्यास अभाव हुने आशंकामा उपभोक्ताले बढी माग गर्नु, आपूर्ति–माग चक्रमा असर पुर्याउँछ। यसकारण उपभोक्ताले पनि जिम्मेवारपूर्वक माग गर्नु आवश्यक छ। सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग–व्यापार र सरकार सबैको दायित्व छ।”
महानगरले पेट्रोल पम्पहरूलाई पनि मौज्दात इन्धन हुँदाहुँदै सेवा नदिने गतिविधिमा निगरानी बढाएको जनाएको छ। ग्यास वा इन्धन अभाव सिर्जना गर्ने घटनाबारे विवरण महानगरको हटलाइन नम्बर ११८० वा ९८५१३५६५०९ मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ।
ग्याँस विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट ग्यास नियमित रूपमा आउने गरेको छ। माग धेरै भएका कारण अस्थायी अभाव देखिएको र उपभोक्ताले सञ्चितिका लागि अत्यधिक माग नगरेको खण्डमा समस्या नहुने उनले बताए।




