काठमाडौं,०१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले नयाँ सरकार गठन हुन अझै करिब १० दिन लाग्ने बताएका छन्। सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संवैधानिक प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले सो अवधिभित्र सरकार गठन हुने बताएका हुन्।
उनका अनुसार नयाँ सरकारको नेतृत्व बालेन्द्र शाह ले गर्ने विषयमा पार्टीभित्र कुनै मतभेद छैन। तर अन्य विषयहरूबारे भने आन्तरिक रूपमा मात्रै छलफल भइरहेको उनले बताए।
झाले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउन पार्टीको विधान संशोधन गर्नुपर्ने आवश्यकता रहेको पनि स्वीकार गरेका छन्। उनले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेपछि आवश्यक प्रक्रियाहरू अघि बढ्ने बताए।
त्यस्तै, कसलाई मन्त्री बनाउने भन्ने विषयमा अहिलेसम्म गम्भीर छलफल नभएको उनले स्पष्ट पारे। बन्दसूची बुझाइसकेपछि मात्रै मन्त्री चयन लगायतका विषयमा पार्टीभित्र औपचारिक छलफल सुरु हुने उनले बताएका छन्।




