काठमाडौं,०१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा रिटको पेसी तोकिएको हो। महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा हटाएर सहकारी ठगी सम्बन्धी मुद्दामा मात्रै केन्द्रित गर्न जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएपछि यो विषय कानुनी विवादको केन्द्रमा पुगेको हो।
गत पुस ३० गते महान्यायाधिवक्ता कार्यालयले सात पृष्ठ लामो टिप्पणी र आदेशमार्फत कास्की, रुपन्देही लगायतका जिल्लामा दर्ता भएका ती मुद्दाहरू संशोधन गरी हटाउन निर्देशन दिएको थियो। उक्त निर्णयलाई कानुनविपरीत र स्वेच्छाचारी भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल ‘सफल’ले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका छन्।
रिट निवेदकहरूले महान्यायाधिवक्ताको निर्णयले न्यायिक प्रक्रियामा नकारात्मक असर पार्ने र राजनीतिक प्रभावका कारण मुद्दालाई कमजोर बनाउने प्रयास भएको दाबी गरेका छन्।
यसैबीच, महान्यायाधिवक्ताको निर्देशनअनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा अभियोगपत्र संशोधनका लागि निवेदन पेस भइसकेका छन्। तर, सर्वोच्चमा रिट विचाराधीन रहेकाले ती अदालतहरूमा प्रक्रिया अगाडि बढ्न सकेको छैन। काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने हालसम्म अभियोगपत्र संशोधनका लागि अदालतमा कुनै निवेदन दिएका छैनन्।
आज सर्वोच्च अदालतले गर्ने आदेशले लामिछानेसँग सम्बन्धित यी मुद्दाहरूको आगामी कानुनी प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।




