काठमाडौं,०१ चैत । नेपाल दलित मुक्ति मोर्चाले सुर्खेतकी १६ वर्षीया इनिसा विकको हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेको छ। मोर्चाका अध्यक्ष दलजित श्रीपाली नेतृत्वको टोलीले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई गृह मन्त्रालयमा ज्ञापन–पत्र बुझाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरेको हो।
मोर्चाले घटनामा संलग्नमाथि कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पीडित परिवारले भोगेको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेको छ।
ज्ञापन–पत्र बुझ्दै गृहमन्त्री अर्यालले घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइने बताएका छन्। उनले देशमा दण्डहीनताको अन्त्य गर्न तथा आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्।
सुर्खेतको गुर्भाकोट नगरपालिका–६ की इनिसा विक गत फागुन २३ गते बिहान ट्युशन पढ्न घरबाट निस्किएकी थिइन्। घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी वीरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकको सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। घटनाको प्रकृति हेर्दा उनको बलात्कारपछि क्रूर रूपमा हत्या गरिएको देखिएको मोर्चाले जनाएको छ।




