बीरगन्ज,०१ चैत । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बीरगन्जमा उपभोक्ता अधिकार, बजार अनुगमन र गुणस्तरीय वस्तु–सेवा उपलब्धताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” मूल नाराका साथ आइतबार आयोजित कार्यक्रममा उद्योग विभाग बीरगन्ज, पर्सा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगन्ज, पर्साको सहकार्य थियो।
कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल र उद्योग विभागका महानिर्देशक सुशील कुमार साह थिए। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, उद्योग वाणिज्य संघ, सरोकारवाला निकाय र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले कार्यक्रममा सहभागिता जनाएका थिए।
वक्ताहरूले उपभोक्ताको अधिकार संरक्षण, बजार अनियमितता नियन्त्रण र गुणस्तरीय वस्तु–सेवा सुनिश्चित गर्न राज्य, व्यवसायी र उपभोक्ताले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। कालोबजारी, कृत्रिम अभाव, म्याद नाघेका वा गुणस्तरहीन वस्तु बिक्री वितरण रोक्न प्रभावकारी बजार अनुगमन आवश्यक रहेको पनि तिनीहरूले उल्लेख गरेका थिए।
साथै उपभोक्ताले सामान खरिद गर्दा उत्पादन मिति, म्याद समाप्ति मिति, मूल्य सूची र गुणस्तरसम्बन्धी जानकारी जाँच गर्नुपर्नेमा जोड दिइएको थियो। कार्यक्रममा उपभोक्ता अधिकारसम्बन्धी कानुनी व्यवस्था, बजार अनुगमन, सेवा–सुविधा र गुनासो व्यवस्थापनबारे पनि जानकारी दिइएको थियो।
हरेक वर्ष मार्च १५ मा विश्वभर मनाइने विश्व उपभोक्ता अधिकार दिवस उपभोक्ताको सुरक्षा, अधिकार र हित संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइन्छ। कार्यक्रम सन्चालन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगन्ज, पर्साका निमित्त कार्यालय प्रमुख सुनिल चौरसियाले गरेकाे थियो।




