spot_img

रास्वपाका सुशील कुमार कानु पर्सा जिल्लाकै कान्छो सांसद बने

spot_img
spot_img

वीरगन्ज,०१ चैत । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा क्लिन स्वीप गरेको छ। पर्सा–२ बाट निर्वाचित ३६ वर्षीय सुशील कुमार कानु जिल्लाकै कान्छो सांसद बनेका छन्।

कानुले पर्सा–२ मा राजनीतिक दिग्गज पूर्वमन्त्री तथा तीन पटक सांसद रहेकी कांग्रेस उम्मेदवार अजय चौरसियालाई १८,८५० मतान्तरले पराजित गरेका हुन्। यसरी जित हासिल गर्दै कानुले जिल्लामा सबैभन्दा बढी मतान्तरसहित प्रतिनिधि सभा सदस्य बनेका छन्।

पर्सा–२ मा कानुले ३० हजार ७ सय ४० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चौरसियाले ११,८९० मत, एमाले उम्मेदवार रिमाकुमारी यादव ११,६०५ मत प्राप्त गरी तेस्रो स्थानमा रहेकी थिइन्। यसैगरी, राप्रपाबाट उम्मेदवार रहेकी पूर्वसांसद विना जयसवालले १ हजार ९९९ मत मात्र प्राप्त गरिन्।

कानुले मात्र प्रतिनिधि सभा जितमा सीमित नभई समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत दिलाएर रास्वपालाई पर्सा जिल्लामा पहिलो दल बनाउन सफल भएका छन्। पर्सा–२ मा कुल ९५,१२० मतदाता रहेकोमा ६५,८७८ मतदाता मतदानमा सहभागी भए।

राजनीतिमा प्रवेश गरेपछि कानुले छोटो समयमै पार्टीको वडा, टोल र बुथ स्तरमा संगठन मजबुत पार्दै निर्वाचनमा प्रचार–प्रसार गरेका थिए। वीरगन्ज–१० को घडिअर्वा स्पोट्र्स क्लबबाट सामाजिक सेवाको यात्रा सुरु गरेका कानुले २०७४ मा वडाध्यक्षमा पराजय भोगे पनि २०७९ मा पुनः जित हासिल गरेका थिए।

उनको वडाध्यक्ष कार्यकालमा सिमित स्रोत–साधनका बाबजुद भौतिक पूर्वाधार, निःशुल्क खानेपानी, सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सांस्कृतिक संरक्षण र युवालाई लक्षित वार्षिक क्रिकेट प्रतियोगिता जस्ता उल्लेखनीय कामहरू सम्पन्न भएका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय