काठमाडौं,०२ चैत । जेनजी आन्दोलनका क्रममा बौद्धस्थित हयात होटलमा तोडफोड गरी प्राइड क्यासिनोमा लुटपाट तथा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उक्त घटनामा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकका दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध बस्दै आएका ३७ वर्षीय कुलध्वज लामा र तेमाल गाउँपालिका–८ घर भई बौद्धमै बसोबास गर्दै आएका राकेश लामा रहेका छन्।
प्रहरीका अनुसार गत भदौ २४ गते आन्दोलनका क्रममा हयात होटलमा तोडफोड गरी होटलभित्र रहेको प्राइड क्यासिनोमा लुटपाट तथा आगजनी गरिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका कुलध्वज लामाविरुद्ध यसअघि सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगसम्बन्धी पाँच वटा मुद्दा दर्ता भएको छ। त्यस्तै राकेश लामाविरुद्ध सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहारसम्बन्धी सात वटा मुद्दा दर्ता भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।




