काठमाडौं,०२ चैत । जनमत पार्टी ले आफ्नो केन्द्रीय महाधिवेशन ६ महिना पछि सार्ने निर्णय गरेको छ।
पार्टीको आइतबार बसेको केन्द्रीय सचिवालय समितिको बैठकले आगामी २० र २१ चैतमा गर्ने तय भएको महाधिवेशन स्थगित गर्दै अब ९ र १० असोज २०८३ मा आयोजना गर्ने निर्णय गरेको हो।
पार्टीका महासचिव चन्दन सिंह ले विज्ञप्ति जारी गर्दै उक्त निर्णयबारे जानकारी दिएका छन्।
साथै, पार्टीले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्ने निर्णय पनि गरेको छ। यसका लागि क्षेत्रीय तहमा समीक्षा बैठक आगामी ७ चैतसम्म सम्पन्न गरी लिखित प्रतिवेदन केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिइएको छ।
त्यसैगरी, पार्टीले देशभरका जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्ने प्रक्रिया पनि अघि बढाउने जनाएको छ। जिल्ला समन्वय समितिका सदस्यहरूमध्येबाट बढीमा ७ जना रहने गरी आगामी १४ चैतसम्म भौतिक बैठक गरेर केन्द्रीय सचिवालयबाट खटाइएका प्रतिनिधिको उपस्थितिमा तदर्थ जिल्ला पदाधिकारी चयन गर्न निर्देशन दिइएको छ।




