बीरगन्ज,०२ चैत । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले जीतपुरसिमराको ६ लेन मुख्य सडकको बीचमा रहेका डिभाइडरहरूको अवस्था बिग्रँदै गएको भन्दै ती संरचनाहरू तत्काल मर्मत गर्न वा सम्भव नभए हटाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
संघका महासचिव प्रकाश गिरीद्वारा जीतपुरसिमरा उपमहानगरपालिकालाई पठाइएको पत्रमा सडकका धेरै स्थानमा रहेका डिभाइडरहरू भाँचिएको, जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको उल्लेख गरिएको छ। डिभाइडरमा जडान गरिएका रेलिङ तथा अन्य संरचनाहरू क्षतिग्रस्त हुँदा सडकको सौन्दर्यमा असर परेको र शहरको समग्र दृश्य नकारात्मक देखिन थालेको संघको भनाइ छ।
पत्रमा डिभाइडरमा रोपिएका बिरुवाहरूको उचित हेरचाह नभएको पनि उल्लेख गरिएको छ। आवश्यक संरक्षण र व्यवस्थापनको अभावमा धेरै बिरुवाहरू सुक्ने वा नष्ट हुने अवस्थामा पुगेका छन्, जसका कारण सडकलाई हरियाली बनाउने मूल उद्देश्य पनि पूरा हुन नसकेको संघले जनाएको छ।
संघका अनुसार भाँचिएका रेलिङ र जीर्ण डिभाइडरका कारण सडक किनार तथा आसपासका क्षेत्रमा फोहोर जम्मा हुने, दुर्घटनाको जोखिम बढ्ने तथा वातावरण अव्यवस्थित देखिने समस्या पनि बढिरहेको छ। यस्तो अवस्थाले आगन्तुक तथा स्थानीय बासिन्दामा शहरप्रति नकारात्मक धारणा बन्न सक्ने संघको चेतावनी छ।
यसै कारण संघले सम्बन्धित निकायलाई डिभाइडरहरूको आवश्यक मर्मत–सम्भार गरी व्यवस्थित बनाउन, र यदि त्यसको उचित व्यवस्थापन सम्भव नभए हटाएर सडक क्षेत्रलाई सफा, सुरक्षित र आकर्षक बनाउने पहल गर्न आग्रह गरेको छ। साथै यस विषयमा सम्बन्धित निकायले छिट्टै आवश्यक कदम चाल्ने विश्वास पनि संघले व्यक्त गरेको छ।




