काठमाडौँ,०३ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ।
महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा बदली रहेको छ भने कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि बादल लागेको अवस्था छ।
आज दिउँसो देशको हिमाली क्षेत्रमा सामान्य बदली रहने र अन्य पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, यी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
यस्तै आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी क्षेत्रको मौसम भने मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहनेछ।




