spot_img

कांग्रेस बाराका सभापति राजेश राय यादवमाथि कारबाही गर्न उम्मेदवार भैयारामको माग

spot_img
spot_img

बारा,०३ चैत ।  नेपाली कांग्रेसबाट बारा–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका भैयाराम प्रसाद यादवले पार्टीका बारा जिल्ला सभापति राजेश राय यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न माग गरेका छन्।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफूलाई पराजित गराउन भूमिका खेलेको आरोप लगाउँदै यादवले सभापति रायविरुद्ध पार्टीको केन्द्रीय अनुशासन समितिमा लिखित उजुरी दर्ता गराएका हुन्।

उनले सभापति राजेश रायसँगै अन्य १० जनामाथि पनि समान कारबाही गर्नुपर्ने माग गरेका छन्। उजुरीमा सभापति रायका पिता तथा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादव, क्षेत्र नम्बर २ का सभापति रामप्रवेश यादव, जिल्ला सदस्य रविन्द्र यादव तथा प्रदेश क्षेत्रीय कार्यसमिति (क) का सचिव हरेकृष्ण प्रसाद जैसवाललाई पनि कारबाही गर्न माग गरिएको छ।

यस्तै क्षेत्रीय कार्यसमिति (ख) का सभापति हरिलाल प्रसाद यादव, करैयामाई गाउँपालिका सभापति मुस्ताक अन्सारी, देवताल गाउँपालिका सभापति रामदयाल महती, महागढीमाई नगरपालिका–४ का सभापति राजेश साह तेली, पचरौता नगरपालिका–१ का सभापति श्रीनारायण सिंह र सोही नगरपालिकाको वडा नम्बर ५ का सभापति वीरबहादुर यादवको नाम पनि उजुरीमा उल्लेख गरिएको छ।

उजुरीमा विपक्षीसँग मिलेर आफूलाई निर्वाचनमा हराउने प्रयास गरेको आरोप लगाउँदै सम्बन्धित व्यक्तिहरूलाई साधारण सदस्यसमेत नरहने गरी १० वर्षसम्मका लागि पार्टीबाट निष्कासन गर्न माग गरिएको छ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भैयाराम प्रसाद यादवले ११ हजार ८३७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए। सोही निर्वाचन क्षेत्र बारा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दनकुमार सिंह ३५ हजार ५९० मतसहित विजयी भएका छन्।

यसअघि पनि बारा–३ को क्षेत्रीय कार्यसमितिले सभापति राजेश रायसहित १६ जनामाथि निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै कारबाहीका लागि पार्टी केन्द्रमा सिफारिस गरिसकेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय