काठमाडौँ,०३ चैत । प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि नेपाली कांग्रेसमा सभापति गगन थापाको राजीनामालाई लिएर विवाद उत्पन्न भएको छ। थापाले पार्टीको हारको नैतिक जिम्मेवारी लिएर राजीनामा दिन खोजिरहे पनि उपसभापति विश्वप्रकाश शर्माले रोक्ने प्रयास गरिरहेका छन्।
पूर्वसभापति शेरबहादुर देउवापक्षीय केही नेताहरूले सामाजिक सञ्जालमार्फत नैतिक जिम्मेवारीको प्रश्न उठाउँदै राजीनामाको विषयलाई सार्वजनिक रूपमा उठाएका छन्। कांग्रेसको वैधानिक प्रक्रियाअनुसार सभापतिले राजीनामा दिन चाहँदा उपसभापति समक्ष बुझाउनुपर्ने व्यवस्था छ।
पार्टी महामन्त्री गुरुराज घिमिरेका अनुसार चैतको पहिलो साताभित्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्वाचन समीक्षा र आगामी १५औँ महाधिवेशनको तयारीबारे छलफल हुनेछ। उनले सभापतिले राजीनामा दिनु वा महाधिवेशनको जिम्मेवारी पूरा गर्नु उचित हुने धारणा व्यक्त गरे।
निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट मात्र जितेको छ। सभापति थापाले स्वयं पनि चुनावमा पराजय भोगेका थिए।
यसबीच, देउवा पक्षमा पनि मतैक्य छैन। पूर्वसभापति देउवा सिंगापुरमा छन् भने पत्नी आरजु राणा देउवा भारतमा भएकाले नेतृत्वसम्बन्धी समस्या देखिएको छ।
थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको निर्णयविरुद्ध देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ।
कांग्रेसभित्रका नेताहरूको धारणा अनुसार अदालतको फैसलापछि पनि तत्कालीन र वर्तमान केन्द्रीय कार्यसमितिलाई मर्ज गरेर महाधिवेशनको तयारी अघि बढाउनु आवश्यक छ। नेता नैनसिंह महरका अनुसार अब बृहत् एकता कायम गरेर पार्टी अघि बढाउनुपर्ने अवस्थामा रहेको छ।




