सुर्खेत,०३ चैत । सुर्खेतकी १६ वर्षीया इनिशा बिकको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ। घटनासँग सम्बन्धित अभियुक्तहरूको बयान सकिएको छ भने अब फरेन्सिक रिपोर्टको पर्खाइ भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनामा संलग्न नाबालकसहितका व्यक्तिहरूको बयान लिइसकिएको छ। एक नाबालक अभियुक्तले दुई वर्षदेखि इनिशासँग सम्बन्ध रहेको दाबी गर्दै घटनाको दिन उनीहरूबीच शारीरिक सम्पर्क भएको र त्यसपछि उनी बेहोस भएको बताएका छन्। उनले सहयोगका लागि साथीहरू बोलाएको पनि बयानमा उल्लेख गरेका छन्।
प्रहरीका अनुसार सिसिटिभी फुटेजमा बिहानको समयमा इनिशा र एक किशोर मात्रै सँगै गएको देखिएको छ। बयानको सत्यता जाँच्नका लागि पोलिग्राफ परीक्षणको तयारी गरिएको छ, जसका लागि नेपालगन्जबाट टोली खटाइएको छ।
घटनाबारे जानकारी दिँदै प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले अनुसन्धानका अधिकांश पाटा पूरा भइसकेको र अब फरेन्सिक रिपोर्ट आएपछि मात्र अन्तिम निष्कर्षमा पुगिने बताए। उनले अनुसन्धानलाई वैज्ञानिक र सूक्ष्म ढंगले अघि बढाइएको पनि स्पष्ट पारे।
यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि थप अनुसन्धानका लागि वीरेन्द्रनगरमा खटिएको छ। प्रारम्भिक पोस्टमार्टम रिपोर्टअनुसार अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।
हालसम्म प्रहरीले १६ वर्षीय एक किशोरसहित चार जनालाई नियन्त्रणमा लिइ जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।
फागुन २३ गते सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी इनिशाको घटनाले स्थानीयस्तरमा चासो र दबाब बढेको छ। परिवार र आफन्तले दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै निष्पक्ष अनुसन्धानको अपेक्षा गरेका छन्।




