spot_img

पर्सामा सशस्त्र प्रहरीद्वारा अपाङ्गलाई घरमै पुगेर ह्विलचेयर वितरण

spot_img
spot_img

वीरगन्ज,०३ चैत । पर्साका विभिन्न स्थानमा रहेका शारीरिक रूपमा अशक्त तथा हिँडडुल गर्न नसक्ने व्यक्तिहरूलाई सशस्त्र प्रहरीले घरमै पुगेर ह्विलचेयर उपलब्ध गराएको छ। सशस्त्र प्रहरी बल, नेपाल शस्त्र प्रहरी गण नं. १३ पर्सा र वीरगन्ज हेल्थ केयर अस्पतालको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा चार जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको हो।

कार्यक्रमअन्तर्गत जिराभवानी गाउँपालिका–१ पकडीटोलाका ६२ वर्षीय प्रेम चौधरीलाई ह्विलचेयर प्रदान गरिएको छ। गाईवस्तुका लागि घाँस काट्ने क्रममा रुखबाट लड्दा स्पाइनकोड इन्जुरी भई उनी पूर्ण रूपमा अशक्त बनेका थिए। विगत दुई वर्षदेखि ओछ्यानमै सीमित रहेका चौधरीको परिवार आर्थिक रूपमा पनि कमजोर रहेको जनाइएको छ।

त्यसैगरी जिराभवानी गाउँपालिका–२ सेढवाका ३५ वर्षीय विनोद दास थारु, जो जन्मजात रूपमा हिँडडुल गर्न असमर्थ छन्, उनलाई पनि घरमै पुगेर ह्विलचेयर उपलब्ध गराइएको छ। यस्तै धोबनी गाउँपालिका–५ धोबनीका ४२ वर्षीय मनबोध चौधरीलाई रोगका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेपछि सोही कार्यक्रममार्फत ह्विलचेयर प्रदान गरिएको छ।

त्यसैगरी बिन्दबासिनी गाउँपालिका–३ झौवाका १० वर्षीय आलोक कुमार राम, जो जन्मजात अपाङ्गता भएका बालक हुन्, उनलाई पनि घरमै पुगेर ह्विलचेयर हस्तान्तरण गरिएको छ। ह्विलचेयर वितरण कार्यक्रममा शस्त्र प्रहरी गण नं. १३ का गणपति एसपी मोहनबहादुर क्षेत्री, बोडर आउट पोस्ट महादेवपट्टीका प्रमुख हरीचन्द्र खड्का, सामाजिक अभियन्ता प्रकाश थारु, सम्बन्धित वडाका अध्यक्षहरू तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सशस्त्र प्रहरी गण नं. १३ ले पर्साका विभिन्न दुर्गम क्षेत्रहरूमा पुगेर असहाय तथा विपन्न नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय