काठमाडौं,०३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई जनताबाट प्राप्त ऐतिहासिक मतलाई जिम्मेवारीपूर्वक उपयोग गर्न आग्रह गरेका छन्। मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रममा उद्घाटन सत्रमा बोल्दै उनले संसदमा ध्यान दिनुपर्ने विषयहरूको पुन: अध्ययन गर्न सांसदहरूलाई निर्देशन दिए।
वाग्लेले भने, “तपाईंहरूले फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ। अब ‘ब्याक टू कलेज’ जस्तै हो। वाचापत्र दोहोर्याएर तेहेर्याएर पढ्नुहोला। पार्टीका धारणाहरू पनि अध्ययन गर्न आवश्यक छ।”
उनी व्यक्तिगत समस्या समाधानमा नभई प्रणाली नै सुधार गर्ने विषयमा सांसदहरू गम्भीर रहनुपर्नेमा जोड दिए। “थिति बसाल्ने संकल्प राख्नुहोस्। अब सिस्टम बसालौं। नेपाली जनताले म्यान्डेट दिएर पठाउनुभएको छ। ठूलो पार्टी मात्र भएर बहुमत नआएको भए जिम्मेवारी अझ ठूलो हुन्थ्यो। यसमा सजक रहनुहोला,” उनले भने।
नवनिर्वाचित सांसदहरूले सरकारले गर्ने कामहरूको अनुगमन गर्ने र आफ्नो निर्वाचन क्षेत्रमा जनताको गुनासो उठाउने वाचडगको भूमिका पनि निर्वाह गर्नुपर्ने वाग्लेले जोड दिए। उनले विकास निर्माणका गतिविधिहरूको समीक्षा गर्न र त्यसमा सुधार गर्न सांसदहरूलाई सचेत रहन आग्रह गरे।
“हामी विधायक सांसदको भूमिकामा छौं। कानुन बनाउने, सरकारको कामको अनुगमन गर्ने र निर्वाचन क्षेत्रका जनताको आवाज उठाउने काम हाम्रो मुख्य जिम्मेवारी हो,” उनले बताए।




