काठमाडौं,०४ चैत । भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौरमा इलेक्ट्रिक कार चार्ज गर्ने क्रममा भएको आगलागी र विस्फोटमा परी सात जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
बुधवार बिहान करिब ४ बजे मध्य प्रदेश अन्तर्गत इन्दौरको बंगाली चौराहानजिकै रहेको एक आवासीय क्षेत्रमा घटना भएको हो। घटनाका बेला अधिकांश मानिसहरू घरमै सुतिरहेका थिए।
इन्दौरका पुलिस कमिश्नर सन्तोषकुमार सिंह का अनुसार घर बाहिर चार्जिङमा राखिएको इलेक्ट्रिक कारमा शर्ट सर्किट हुँदा आगलागी सुरु भएको थियो। “केही मिनेटमै आगो घरभित्र फैलियो,” उनले बताए।
घरभित्र ठूलो संख्यामा ग्यास सिलिन्डर राखिएको र आगलागीपछि तीमध्ये करिब १५ सिलिन्डर विस्फोट भएको जनाइएको छ। प्रत्यक्षदर्शीका अनुसार सिलिन्डरहरू एकपछि अर्को गरी विस्फोट भएका थिए, जसका कारण क्षति झनै बढेको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




