भरतपुर,०४ चैत । नारायणगढ–मुग्लिन सडकखण्ड मा गरिएका अध्ययनअनुसार आठ स्थान उच्च पहिरो जोखिममा रहेको पाइएको छ।
सडक डिभिजन कार्यालय भरतपुर को अध्ययन अनुसार यस सडकखण्डका ४३ ठाउँ पहिरो जोखिममा छन्। तीमध्ये ८ स्थान उच्च जोखिममा, २२ स्थान सामान्य जोखिममा र १३ स्थान तुलनात्मक रूपमा कम जोखिममा रहेका छन्।
कार्यालयका इञ्जिनियर अर्जुन घिमिरे का अनुसार तुइन खोला, काली खोला र नाम्सी खोला उच्च जोखिममा छन्। यसबाहेक तुइन–चिसेन्जी बीचको खण्ड, चार किलोको दुई ठाउँ, मौरी खोला र सेती दोभान पनि उच्च जोखिममा रहेको जनाइएको छ।
इञ्जिनियर घिमिरेले भने, “तुइन र चिसेन्जीको बीचमा ढुङ्गा झर्ने समस्या छ। चार किलोको दुई ठाउँमध्ये एउटामा पहिरो र अर्कोमा लेदो झर्ने समस्या रहेको छ। मौरी खोला र सेती दोभानमा लेदोसहितको पहिरोको उच्च जोखिम छ।”
सडक डिभिजन कार्यालयका प्रमुख नारायण लामिछाने का अनुसार तुइन, काली र नाम्सी खोला क्षेत्रमा पहिरो रोकथामका लागि माघ २३ गते सडक विभागमा खरिद योजना स्वीकृतिका लागि पठाइसकिएको छ। विभागले डिजाइन कार्य अन्तिम चरणमा पुर्याइसकेको छ।
ती क्षेत्रका लागि विपद् बजेटबाट रु २५ करोड विनियोजन गरिएको छ भने बाँकी जोखिमयुक्त अन्य स्थानका लागि २० करोड विनियोजन गरिएको छ। बोलपत्र आह्वान प्रक्रिया केही दिनमै सुरु हुने र वर्षाअघि जोखिम न्यूनीकरणका काम सम्पन्न हुने कार्यालयले जनाएको छ।
यो सडकमार्ग दैनिक १० हजारभन्दा बढी सवारी साधनको आवतजावत हुने प्रमुख मार्ग भएकाले राजधानी काठमाडौंसँगको ‘लाइफ लाइन’ मानिन्छ।




