जनकपुर,०४ चैत । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ मा अन्तरजातीय विवाह गरेकी २५ वर्षीया विभाकुमारी महतो मंगलबार दिउँसो घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
विभाकुमारी महतोका पति मुकेश धनखोटी यादव लाई प्रहरीले पक्राउ गरेको छ। मृतकको माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएको छ।
माइती पक्षका अनुसार, दुवैको विवाह ५ वर्षअघि भागी–बिवाहमार्फत भएको थियो। विवाहको लामो समय भए पनि सन्तान नभएपछि विभाकुमारीको श्रीमान र परिवारले उनलाई शारीरिक तथा मानसिक यातना दिएको दाबी गरिएको छ।
धनुषा प्रहरीले आत्महत्या दुरुत्साहनको जाहेरीको आधारमा पति मुकेशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको धनुषा प्रहरी प्रवक्ता गणेश बम ले जानकारी दिएका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा विभाकुमारीको शरीरमा नीलडाम देखिएको उल्लेख गरिएको छ। घटनाको गम्भीरता र पारिवारिक पृष्ठभूमि हेर्दा प्रहरीले पूर्ण रूपमा सत्यतथ्य पत्ता लगाउन प्रयासरत रहेको जनाइएको छ।




