काठमाडौं,०४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले वर्तमान संविधानप्रति आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
बुधबार पार्टीका नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उनले संविधान र वर्तमान व्यवस्थाप्रति कुनै डगमगापन नहुने दाबी गरेका हुन्। उनले भने, “वर्तमान व्यवस्था, वर्तमान संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन। डगमगाउने वाला पनि छैन। यहाँहरूले पनि डगमगाउन दिनुहुने छैन।”
सभापति लामिछानेले शासकीय स्वरुपमा आवश्यक सुधार हुनसक्ने तर त्यसले संविधानको मौलिकता र स्थायित्वमा कुनै असर पार्नु नहुनेमा जोड दिएका छन्। उनले पुराना राजनीतिक दलका नेताहरूले मुलुकको इतिहासमा गरेको योगदानको सम्मान गर्नुपर्ने बताएका छन्।
उनले भने, “इतिहास रच्न एउटा नेता वा पार्टीको मात्रै हात हुँदैन। विभिन्न पुराना राजनीतिक दलका नेताहरूले त्याग र तपस्या गरेर आजको दिन ल्याउनुभएको छ। यद्यपि, उहाँहरूको केही कमजोरी र बेथितिमा प्रश्न उठाउन सकिन्छ, तर उहाँहरूको योगदानलाई नजरअन्दाज गर्ने वा अपमान गर्ने हक हामीसँग छैन।”
लामिछानेको यो अभिव्यक्ति रास्वपाका सांसदहरूलाई वर्तमान संविधानको रक्षा गर्दै आवश्यक सुधारका लागि सचेत रहन प्रेरित गर्ने उद्धेश्यका साथ आएको हो।




