spot_img

छ दिनदेखि कुपहीको विद्यालयमा तालाबन्दी

spot_img
spot_img

सप्तरी,०४ चैत । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–६ स्थित श्री जनता माध्यमिक विद्यालय, खुदीवखारी कुपहीमा गरिएको तालाबन्दी छैटौँ दिनसम्म पनि खुल्न सकेको छैन। परीक्षाबाट वञ्चित भएको भन्दै प्राविधिक (डिप्लोमा इन सिभिल इन्जिनियरिङ) अध्ययनरत विद्यार्थीहरूले गत शुक्रबार सुरु गरेको आन्दोलन अझै जारी छ।

विद्यार्थीहरूले विद्यालयमा कक्षा सञ्चालन नियमित नभएको, परीक्षा फारममा अनियमितता भएको र तोकिएको भन्दा बढी शुल्क लिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार पहिलो सेमेस्टरपछि दोस्रो र तेस्रो सेमेस्टरमा कक्षा नै सञ्चालन भएन, जसले उनीहरूको शैक्षिक भविष्य अन्योलमा परेको छ।

विशेष गरी परीक्षा फारम शुल्कमा गम्भीर गुनासो उठाइएको छ। विद्यार्थीहरू भन्छन्, सिटिइभिटीले निर्धारण गरेको ५०० रुपैयाँको सट्टा विद्यालयले २५०० रुपैयाँ मागेको, रसिद नदिएको र प्रवेशपत्र समेत उपलब्ध नगराएको कारण आफूहरू परीक्षा दिनबाट वञ्चित भएको हो। सोही विषयमा तेस्रो सेमेस्टरका विद्यार्थी अंशुकुमार मण्डलको अगुवाइमा तालाबन्दी गरिएको हो।

यता गाउँपालिकाले भने तालाबन्दी खुलाउन पहल गर्नुको सट्टा विद्यालयसँग आवश्यक कागजात माग गरेको छ। शिक्षा अधिकृत विरेन्द्र कुसियैतले पत्राचार गर्दै कक्षा सञ्चालन अनुमति, शिक्षक नियुक्ति विवरण, हाजिरी, शुल्क विवरणलगायत कागजात दुई दिनभित्र बुझाउन निर्देशन दिएका छन्।

पालिकाबाट पत्र आएपछि विद्यालय प्रशासनले पनि आन्तरिक प्रक्रिया अघि बढाएको छ। प्रधानाध्यापक लालबहादुर मण्डलले प्राविधिक संयोजक इन्जिनियर दिनेश साहसँग स्पष्टीकरण माग गरेका छन्।

तर विद्यालय पक्षले भने विद्यार्थीका आरोप अस्वीकार गरेको छ। प्रधानाध्यापक मण्डलका अनुसार अंशुकुमार नियमित विद्यार्थी नभई पटक–पटक आग्रह गर्दा पनि फारम नभरेका कारण परीक्षा छुटेको हो। उनले विद्यालयले सिटिइभिटीले तोकेको शुल्कभन्दा बढी नलिएको र फारम भर्ने समयमा उक्त विद्यार्थी भारतमा रहेको दाबी गरेका छन्।

विद्यालय र विद्यार्थीबीचको विवाद चर्किँदै जाँदा तालाबन्दी लम्बिएको छ, जसले विद्यालयको शैक्षिक गतिविधि पूर्ण रूपमा प्रभावित भएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय