रौतहट,०४ चैत । रौतहटका किसानहरू केरा खेतीमा भएको हावाहुरीका कारण ठूलो आर्थिक क्षतिमा परेका छन्। सोमबार साँझ आएको भीषण हावाहुरीले चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा केरा बगैंचामा भारी क्षति पुर्याएको छ। विशेष गरी चन्द्रपुर–३ को गैँडाटारमा करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको केरा खेती पूर्ण रूपमा नष्ट भएको छ।
स्थानीय कृषक दीपक गौतमका अनुसार “हजारौँ बोट केरा एकैछिनमा ढले, वर्षभरिको मेहनत ध्वस्त भयो। लगानी, श्रम र समय सबै गुम्दा किसान आर्थिक रूपमा धराशायी भएको छ।”
चन्द्रपुर–१ को पौराई, चन्द्रपुर–२ को जुडिबेला, वार्ड नं ३ को गैडाटार र वार्ड नं ४ को चन्द्रनिगाहपुर लगायत क्षेत्रमा पनि हावाहुरीले केरा बगैंचामा पूर्ण क्षति पुर्याएको स्थानीय कृषकहरूले बताएका छन्। गैँडाटार क्षेत्र रौतहटको प्रमुख केरा उत्पादन क्षेत्र हो, जहाँ अधिकांश किसान व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्।
केरा खेतीमा बारम्बार प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने भए पनि बिमा नहुँदा किसानले सबै क्षति आफैं बेहोर्नुपरेको छ। दीपक गौतमले बताए, “हामीले बर्सौंदेखि नगरपालिकामा बिमा गराउने माग गर्दै आएका छौँ, तर सुनुवाइ भएको छैन।” उनले करिब ७ बिघा जमिनमा केरा खेती गर्दै आएका छन्।
रौतहटमा करिब चार सय बिघाभन्दा बढी जमिनमा केरा खेती भएको छ र हावाहुरीका कारण रु तीन करोडभन्दा बढी क्षति भएको अनुमान गरिएको छ। अर्का किसान रमेश घिमिरेले भने, “बिमा भए लगानी सुरक्षित हुन्थ्यो। बिमा नहुँदा हामी आर्थिक जोखिममा पर्छौँ। हरेक वर्ष प्राकृतिक प्रकोप आउँदा समस्यामा पर्छौँ।”
चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले ले भने किसानहरूको बाली बिमाका लागि नगरपालिकाले सबै किसिमको सहयोग गर्न तयार रहेको बताए। उनले बालीको बिमा अति आवश्यक भएको र आवश्यक सहयोगका लागि नगरपालिका सक्रिय रहेको स्पष्ट पारे।




