काठमाडौं,०५ चैत । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि जनता समाजवादी पार्टी नेपाल आन्तरिक समीक्षामा जुटेको छ। पार्टीले यसपटक एक सिट पनि जित्न नसकेपछि पराजयको कारण खोज्न शीर्ष नेतृत्व सक्रिय बनेको हो।
पार्टीका नेता सुरेन्द्र झाले का अनुसार अध्यक्ष उपेन्द्र यादव स्वयं मधेसका विभिन्न जिल्लामा पुगेर नेता–कार्यकर्तासँग छलफल गरिसकेका छन्। जिल्ला अध्यक्ष, उम्मेदवार तथा स्थानीय तहका नेताहरूसँग प्रत्यक्ष संवाद गर्दै चुनावी कमजोरीबारे समीक्षा गरिएको छ।
काठमाडौं फर्किएपछि अध्यक्ष यादव शीर्ष नेताहरूसँग थप छलफलमा जुटेका छन्। पार्टीले यो असफलतालाई गम्भीर रूपमा लिएको जनाउँदै समीक्षा पछि आधिकारिक धारणा सार्वजनिक गरिने बताइएको छ।
यसअघि सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठकले चुनावी हारको एक कारण बालेन शाह प्रति बढेको जनसमर्थनलाई मानेको थियो। “मधेसको छोरा प्रधानमन्त्री बन्ने” अपेक्षाले मत प्रभावित भएको निष्कर्ष निकालिएको थियो।
तर उक्त निष्कर्षप्रति जसपा नेपालभित्रै असन्तुष्टि देखिएको छ। पार्टीका अधिकांश नेताले मोर्चाको धारणा अस्वीकार गरेका छन् भने अध्यक्ष यादवसमेत त्यसप्रति पूर्ण सन्तुष्ट नरहेको बताइएको छ।
जसपा नेपालले छिट्टै औपचारिक बैठक बोलाएर आफ्नो निष्कर्ष सार्वजनिक गर्ने तयारी गरेको छ।




