spot_img

प्रतिनिधिसभा मतपरिणामसँगै धारा ७६ (१) अनुसार नयाँ सरकार गठन हुँदै

spot_img
spot_img

काठमाडौँ,०५ चैत । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ। निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई मतपरिणामसहितको प्रतिवेदन बुझाएसँगै मुलुक नयाँ सरकार गठनको प्रक्रियामा अघि बढ्नेछ।

निर्वाचनमा प्रत्यक्ष तर्फ १६५ र समानुपातिक तर्फ ११० सांसद गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ १८२ सांसद पाएको छ। रास्वपाबाट प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सांसद निर्वाचित भएका छन्।

संविधानको धारा ७६ को उपधारा (१) अनुसार बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। यसरी रास्वपाको संसदीय दलका नेता वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने तयारी भएको छ। कानुनविद्हरूको मत अनुसार पार्टीसँग एकल बहुमत रहेको हुँदा प्रधानमन्त्री नियुक्ति प्रक्रिया संविधानअनुसार सरल हुनेछ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले नयाँ सांसदलाई शपथ गराउने र त्यसपछि संसदीय दलको नेता चयन गरी राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने कानुनी व्यवस्था छ। संविधान जारी भएपछि पहिलोपटक धारा ७६ (१) अन्तर्गत एकल बहुमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुन लागेको हो।

संघीय संसद् सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेको छ। पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ र सात दिनभित्र सभामुख तथा उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइनेछ। अबको संसद् बैठक सिंहदरबास्थित निर्माणाधीन नयाँ संसद् भवनमा बस्नेछ।

संसद्को पहिलो अधिवेशन र प्रधानमन्त्री नियुक्तिपछि मन्त्रिपरिषद् विस्तार हुनेछ र नयाँ सरकार मुलुकको कार्यपालिका सञ्चालनमा आउँनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय