काठमाडौँ,०५ चैत । वार्षिक परीक्षा सकिनु अघि नै काठमाडौँ उपत्यका तथा अन्य क्षेत्रका धेरै निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र, २०८३ का लागि भर्ना प्रक्रिया सुरु गरेका छन्। निजी विद्यालयका वेबसाइट र सूचनापाटीमा ‘सीमित सिटका लागि भर्ना खुलेको छ’ भन्ने सूचना देख्न सकिन्छ।
शिक्षा नियमावली विपरीत भर्ना सुरु हुनु नयाँ घटना भने होइन। विगतका वर्षहरूमा पनि निजी विद्यालयहरूले वार्षिक परीक्षा पूरा नहुँदै भर्ना प्रक्रिया सञ्चालन गर्दै आएका छन्। सङ्घीय र स्थानीय सरकारले हरेक वर्ष वैशाखदेखि मात्रै भर्ना खोल्न निर्देशन दिँदै आएका छन्, तर निजी विद्यालयले नियम पालना नगरी भर्ना सुरु गर्दै आएको छ।
उदाहरणका लागि काठमाडौँको ग्यालेक्सी पब्लिक स्कुल र ललितपुरको लिटिल एन्जल्स स्कुलले चैतभरिकै लागि कक्षा १–८ का लागि भर्ना सुरु भएको सूचना जारी गरेका छन्। बुद्धनगरस्थित रोजबर्ड स्कुलले कक्षा १–६ का लागि फारम वितरण गरिरहेको छ भने भक्तपुरको माउन्ट एभरेष्ट स्कुलले पनि भर्ना खुल्ला भएको सूचना राखेको छ।
शिक्षा नियमावली २०७७ (दशौँ संशोधन) को दफा ७८ अनुसार वार्षिक परीक्षा र लब्धाङ्कपत्र प्राप्त भएपछि मात्रै नयाँ भर्ना सुरु गर्न सकिने प्रावधान छ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज ढकालले भने, “नियमले वार्षिक परीक्षा र नतिजा प्रकाशित नगरी भर्ना गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ। चैतभित्रै परीक्षा सम्पन्न र नतिजा आएपछि मात्रै भर्ना प्रक्रिया सुरु हुन्छ।”
उनले भने, “नियमविपरीत भर्ना भइरहेको भन्ने औपचारिक गुनासो आएमा अनुगमन गरी कारबाही हुनेछ। तर हाल निजी विद्यालय र अभिभावकबीच सहमति देखिएको छ।”
निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) का महासचिव आरबी कटवालले भने, “भर्ना प्रक्रिया आन्तरिक रूपमा सुरु भएको हुनसक्छ, तर औपचारिक रूपमा नयाँ शैक्षिक सत्रको भर्ना परीक्षा र नतिजा आएपछि मात्र सुरु हुने हाम्रो स्पष्ट नीति हो।”
नेसनल प्याब्सनकी अध्यक्ष गीता राणा क्षेत्रीले भने, “निजी विद्यालयले चैतमा भर्ना सुरु गरेको भए पनि पूर्ण भर्ना भने वार्षिक परीक्षा र लब्धाङ्कपत्र आएपछि मात्र हुनेछ। सरकारी विद्यालयमा भर्ना वैशाखदेखि सुरु हुन्छ।”
हाल काठमाडौँ महानगरमा ६७४ निजी र ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन्। आधारभूत शिक्षा कक्षा ८ को परीक्षा ५७ विद्यालयमा चैत १२ गतेसम्म सञ्चालन हुने क्रममा छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार मुलुकभर २६ हजार ६०६ सामुदायिक, ७ हजार ८८६ निजी र १ हजार ३८४ धार्मिक विद्यालय छन्।




