रौतहट,०५ चैत । रौतहटकाे गुजरा नगरपालिका–३, जङ्गलसहियामा रहेको पशुपति सामुदायिक वनमा बिहीबार आगलागी भएको छ। आगलागीका कारण करिब २ हेक्टरमा रोपिएका बोट बिरुवा जलेर नष्ट भएका छन्।
जङ्गलसहिया सब डिभिजन वन कार्यालयका प्रमुख विनोद जेठाराका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन कार्यालयको संयुक्त प्रयासले आगलागी करिब दुई घण्टामा नियन्त्रणमा आएको छ। समयमै नियन्त्रणमा ल्याइएकोले ठूलो क्षति रोकिएको जनाइएको छ।
प्रमुख जेठाराले आगलागीमा खर, टिक, साल र सिसौंका बोट बिरुवामा क्षति पुगेको बताए। आगलागी कसरी सुरु भयो भन्ने यकिन हुन नसकेको पनि उनले बताए। पशुपति सामुदायिक वनका अध्यक्ष टीका चौधरीले पनि रोपिएका बोट बिरुवा जलेर नष्ट भएको पुष्टि गरेका छन्।
स्थानीयहरूका अनुसार सामुदायिक वनको संरक्षणमा पदाधिकारीको सक्रियता पर्याप्त नभएकोले आगलागीका घटनामा वृद्धि भइरहेको छ। अध्यक्ष चौधरी समेत घटनास्थलमा उपस्थित नभएको स्थानीयहरूले गुनासो गरेका छन्।
वनमा आगलागीले गाउँ बस्तीको हावापानीमा पनि प्रदूषण बढाएको छ। जङ्गलसहिया सब डिभिजन वन कार्यालयले चैतदेखि जेठसम्म सम्भावित आगलागीका लागि स्थानीयलाई सचेत गराउँदै जनचेतना फैलाउने काम गर्दै आएको छ।
वन ऐनअनुसार कसैले जानबुझेर आगो लगाउँदा निजलाई ६० हजार रुपैयाँ जरिवाना र तीन महिनासम्म कैदको व्यवस्था छ।




