बीरगन्ज,०६ चैत । पर्साको बीरगन्ज महानगरपालिका–११ मा शारीरिक अपाङ्गता भएका एक व्यक्तिलाई व्हीलचेयर सहयोग प्रदान गरिएको छ। उपकार सेवा नेपाल र क्विन ज्वेलर्सको समन्वयमा गरिएको उक्त सहयोग अन्तर्गत मिर्ली चौक निवासी ५५ वर्षीय लालबाबु नेपालीलाई घरमै पुगेर व्हीलचेयर हस्तान्तरण गरिएको हो।
लामो समयदेखि शारीरिक अस्वस्थताका कारण उनी दुई वर्षयता ओछ्यानमै सीमित थिए र हिँडडुल गर्न असमर्थ थिए। उनको अवस्था बुझेर संस्थाका अध्यक्ष स्वयं घरमै पुगेर आवश्यक सहयोग प्रदान गरेका हुन्। कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विध्या कुमारी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारु, समाजसेवी अमर सर्राफ, प्रज्वलमान डंगोल, दिप्पु बर्णवाल, वडा अध्यक्ष अजय चौरासिया तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उपकार सेवा नेपालले यसअघि पनि विभिन्न ठाउँमा पुगेर असहाय तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्दै आएको छ। यस किसिमको पहलले समाजमा मानवीयता र सहयोगको भावना अझ सुदृढ बनाउने विश्वास गरिएको छ।




