बीरगन्ज,०७ चैत । मुस्लिम समुदायको महान् पर्व ईद–उल–फित्र आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। एक महिनासम्म रोजा (उपवास) बसेर आत्मसंयम र अनुशासनको अभ्यास गरेका मुस्लिम धर्मावलम्बीहरूले आज आपसमा खुसी साटासाट गर्दै पर्व मनाएका छन्।
बिहानै सफा तथा नयाँ लुगा लगाएर इदगाह र मस्जिदहरूमा भेला भई सामूहिक नमाज अदा गरेपछि एकअर्कालाई अँगालो हाल्दै ‘ईद मुबारक’ भन्दै शुभकामना आदान–प्रदान गरिएको छ। यस पर्वमा आपसी रिस, राग र द्वेष भुल्दै भाइचारा, सद्भाव र मेलमिलाप कायम गर्ने परम्परा विशेष रूपमा महत्त्वपूर्ण मानिन्छ।
धार्मिक विश्वासअनुसार ईद–उल–फित्र आत्मिक शुद्धता र आध्यात्मिक उन्नतिको प्रतीक हो। नमाजपछि मान्यजनबाट आशीर्वाद लिने तथा ‘सेवई’ जस्ता मिठाइ परिकार बाँडेर पर्व मनाउने गरिन्छ। साथै ‘जकात’ (दान) दिने परम्पराले गरिब तथा विपन्न वर्गप्रति सहयोग र सहानुभूति अभिवृद्धि गर्दै सामाजिक न्यायलाई बलियो बनाउने विश्वास गरिएको छ।
ईद केवल धार्मिक पर्व मात्र नभई सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा पनि लिइन्छ। यसले मानवता, सहिष्णुता र सहअस्तित्वको सन्देश दिँदै सबैलाई सदाचार र समन्वयतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।




