हेटौँडा,०७ चैत । मकवानपुरको भीमफेदी–८ गंगटे क्षेत्रमा शुक्रबार दिउँसो परेको वर्षापछि पहिरो खस्दा काठमाडौँ जोड्ने छोटो दूरीको कान्तिलोक पथ अवरुद्ध भएको छ। सडक माथिल्लो भागबाट ढुङ्गा र ग्राभेलसहितको पहिरो झर्दा उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली खटाइएको छ भने स्थानीय तह र डिभिजन सडक कार्यालयसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको छ।
हाल उक्त क्षेत्रमा सडक चौडा पार्ने र कालोपत्रे गर्ने काम भइरहेको छ। पहिरो खसेको स्थान ठिंगनबाट करिब ६ किलोमिटर उत्तरतर्फ पर्छ। प्रहरीका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्न सक्ने भएकाले यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ।




