काठमाडौं,०७ चैत । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभर ३० जिल्लामा ३६ वटा विपद् घटनाका केस दर्ता भएका छन्।
चैत ६ गते बिहान १० बजेदेखि ७ गते बिहान १० बजेसम्मको अवधिमा भएका घटनामा १ जनाको मृत्यु र १४ जना घाइते भएका छन्। सबैभन्दा बढी चट्याङका घटनाहरू भएका छन्। ९ जिल्लामा भएका १० चट्याङका घटनामा १० जना घाइते भएका छन्। आगलागीका ७ घटनामा २ जना घाइते भएका छन् भने लेक लाग्ने समस्याबाट २ घटनामा १ जनाको मृत्यु र १ घाइते भएका छन्।
त्यस्तै अविरल वर्षा, पहिरो, हावाहुरी र जनावर आक्रमणका घटनाहरू पनि दर्ता भएका छन्।
विपद् घटनाबाट करिब ३० लाख ८६ हजार रुपैयाँ बराबरको भौतिक तथा आर्थिक क्षति भएको अनुमान छ। साथै ३० वटा चौपाया जनावरको पनि क्षति भएको प्राधिकरणले जनाएको छ। उद्धार र राहत कार्यका लागि १७७ जना प्रहरी परिचालन गरिएको छ।
२०७२ वैशाख १ देखि हालसम्म नेपालभर ७ हजार १४० विपद्का घटनामा ४७९ जनाको मृत्यु भइसकेको छ भने ३८ जना अझै बेपत्ता छन्। यस अवधिमा १,८७० जना घाइते भएका छन्। आगलागी, सर्पदंश, पहिरो, बाढी, चट्याङ र जनावर आक्रमणबाट ठूलो जनधन क्षति भएको तथ्यांकमा देखिएको छ।




