काठमाडौं,०८ चैत । देशभर हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव देखिएको छ, जसका कारण विभिन्न प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी कोशी, मधेश र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली देखिएको छ भने तराई क्षेत्रमा आंशिक बदली छ।
आइतबार दिउँसो पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।
हाल कोशी र मधेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका क्षेत्रमा मध्यम वर्षा र हिमपात भइरहेको छ।
रातिको समयमा हिमाली क्षेत्रमा बदली कायम रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा राति पनि एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।




