spot_img

लिपुलेक नाका हुँदै भारत–चीनबीच व्यापार पुनः सुरु हुने तयारी

spot_img
spot_img

काठमाडौं,०८ चैत । नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारतचीन बीच सीमा व्यापार पुनः सुरु हुने तयारी गरिएको छ।

भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार करिब ६ वर्षपछि उक्त नाका प्रयोग गरी दुई देशबीच व्यापार सञ्चालन गर्न लागिएको हो। सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापार सत्रका लागि तयारी सुरु भइसकेको जनाइएको छ।

उत्तराखण्डका जिल्ला अधिकारी आशिष भटगाईलाई उद्धृत गर्दै केन्द्र सरकारको निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ।

लिपुलेक भञ्ज्याङ कालापानी क्षेत्रमा पर्ने संवेदनशील भूभाग हो। यस क्षेत्रमा पर्ने गुन्जी गाउँ लगायतका बस्ती हाल भारतीय नियन्त्रणमा छन्। नेपालले भने यस क्षेत्रमाथि निरन्तर आफ्नो दाबी गर्दै आएको छ।

यसअघि सन् २०१५ र २०२० मा पनि नेपालले लिपुलेक नाकासम्बन्धी भारत–चीनबीच भएका द्विपक्षीय सहमतिप्रति असहमति जनाएको थियो।

हाल भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी गरेपछि व्यापार पुनः सुरु गर्ने प्रक्रिया अघि बढेको हो। भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई पत्र लेख्दै व्यापार पुनः सञ्चालनका लागि समन्वय गर्न आग्रह गरेका छन्।

विवादित क्षेत्र हुँदै व्यापार सुरु गर्ने तयारीले क्षेत्रीय कूटनीति र नेपाल–भारत सम्बन्धमा फेरि बहस चर्किने संकेत देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय