काठमाडौं,०८ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आफ्नो मातृभाषामा पनि शपथ लिन पाउने भएका छन्। तर, त्यसका लागि उनीहरूले कम्तीमा तीन दिनअघि नै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कुन भाषामा शपथ लिने भन्ने विवरण समयमै बुझाउनुपर्ने प्रावधान रहेको छ। नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते तय गरिएको छ।
यसअघि, ज्येष्ठ सदस्यले चैत ११ गते राष्ट्रपतिसमक्ष शपथ लिनेछन्। त्यसपछि उनैले अन्य सांसदहरूलाई शपथ खुवाउने व्यवस्था छ।
शपथसम्बन्धी ऐन २०७९ अनुसार सामान्यतया शपथ नेपाली भाषामा लिनुपर्ने भए पनि आफ्नो मातृभाषामा शपथ लिन चाहनेले सो शपथको पाठ अनुवाद गरी आफैं प्रमाणित गरेर शपथअघि नै पेश गर्नुपर्ने हुन्छ।
यस्तै, शपथ लिँदा सांसदहरूले औपचारिक पोशाक लगाउनुपर्ने व्यवस्था छ। साथै, आफ्नो संस्कृति र पहिचान झल्किने मर्यादित भेषभूषामा पनि शपथ लिन सकिने प्रावधान ऐनमा उल्लेख गरिएको छ।




