सिरहा,०८ चैत । शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले सिरहाका इँटा उद्योगहरूमा ठूलो क्षति पुगेको छ। जिल्लाभर सञ्चालनमा रहेका ३० भन्दा बढी इँटा उद्योगमा पकाउन तयारी अवस्थामा रहेका काँचो इँटा गल्दा करिब ९ करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको व्यवसायीहरूले बताएका छन्।
नेपाल इँटा भट्टा महासंघ सिरहाका अध्यक्ष कृष्णा सिंहका अनुसार प्रत्येक उद्योगमा ४ देखि ६ लाखसम्म काँचो इँटा नष्ट भएको छ। उनले जिल्लाभर करिब एक करोडभन्दा बढी इँटा पानीले बिगारेको जानकारी दिए।
गोलबजार–६ स्थित श्री सागर इँटा उद्योगका सञ्चालक विक्रम साहका अनुसार उनीहरूको उद्योगमै मात्र करिब ६ लाख इँटा गलेको छ। अन्य उद्योगहरूमा पनि समान रूपमा क्षति पुगेको उनले बताए।
व्यवसायीहरूका अनुसार एउटा काँचो इँटा तयार पार्न करिब ३ रुपैयाँ खर्च लाग्छ। माटो, पानी, मेसिन र श्रम खर्च जोडिँदा लागत बढ्ने भएकाले अहिलेको क्षतिले ठूलो आर्थिक मार परेको उनीहरूको भनाइ छ।
बेमौसमी वर्षा जिल्लाभर एकनासले परेकाले अधिकांश इँटा उद्योग प्रभावित भएका छन्। व्यवसायीहरूले राज्यले कर उठाउने मात्र नभई आफ्नो उत्पादनको संरक्षणतर्फ पनि ध्यान दिनुपर्ने माग गरेका छन्।




