काठमाडौं,०८ चैत । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा वस्तु आयात उल्लेखनीय रूपमा बढ्दा निर्यातको तुलनामा ठूलो व्यापार घाटा देखिएको छ।
भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्म कुल १२ खर्ब ८९ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ। यसै अवधिमा निर्यात भने १ खर्ब ९१ अर्ब रुपैयाँ मात्रै भएको छ।
गत वर्षको यही अवधिको तुलनामा आयात १२.५४ प्रतिशतले वृद्धि भएको छ भने निर्यातमा २०.८३ प्रतिशतको वृद्धि देखिएको छ। अघिल्लो वर्ष सोही अवधिमा ११ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको आयात र १ खर्ब ५८ अर्ब रुपैयाँको निर्यात भएको थियो।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.०९ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा मात्र १२.९१ प्रतिशत छ। यसले देशको व्यापार सन्तुलन अझै कमजोर रहेको संकेत गरेको छ।




