काठमाडौं,०८ चैत । सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गर्दै सेवा प्रवाह सुरु गरेको छ। यसले नागरिकलाई राष्ट्रिय परिचयपत्र र नागरिकता सम्बन्धी सेवा सहज र समयबचतपूर्ण बनाउने लक्ष्य राखेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जानकारी दिएका हुन्। उनका अनुसार, अब सेवाग्राहीले एउटै विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने बाध्यता हटेको छ।
यस प्रणाली मार्फत सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको विवरण दर्तासहित आवेदन फारम भर्ने प्रक्रिया र जैविक (बायोमेट्रिक) विवरणका लागि राष्ट्रिय परिचयपत्र इकाईमा उपस्थित हुनुपर्ने बाध्यता हट्नेछ। यसले नागरिकको समय र आर्थिक खर्च दुवै घटाउने अपेक्षा गरिएको छ।
गृहमन्त्री अर्यालले बताएअनुसार, हाल केन्द्रित सेवा केही स्थानमा उपलब्ध भइसकेको छ र भविष्यमा यसलाई देशैभरी विस्तार गर्ने योजना छ। नयाँ प्रणालीबाट सेवाग्राहीले सजिलो, छिटो र नागरिकमैत्री सेवा पाउने विश्वास व्यक्त गरिएको छ।




