spot_img

उखु अभावले एभरेष्ट चिनी उद्योगको क्रसिङ लक्ष्य पूरा हुन सकेन

spot_img
spot_img

महोत्तरी,०८ चैत । चालु आर्थिक वर्ष २०८२/८३ मा महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योगले उखु अभावका कारण निर्धारित क्रसिङ लक्ष्य हासिल गर्न सकेन।

उद्योगका अनुसार यस याममा ८९ दिन मात्रै सञ्चालन भएको क्रसिङमा २८ लाख ५३ हजार १७८ क्विन्टल उखु प्रशोधन भएको छ, जुन निर्धारित ३१ लाख क्विन्टल लक्ष्यभन्दा २ लाख ४७ हजार ८२२ क्विन्टल कम हो। उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले पर्याप्त उखु उपलब्ध नहुँदा पटक–पटक क्रसिङ रोक्नु परेको बताए। उद्योगले गत पुस ७ गतेदेखि क्रसिङ सुरु गरी बिहीबारसम्म सञ्चालन गरेको थियो।

पछिल्ला वर्षमा भुक्तानी प्रक्रिया सहज भए पनि उखुखेती अपेक्षाअनुसार वृद्धि नहुँदा किसान उत्साहित नहुने देखिएको छ। एक दशकअघि १५ हजार बिघाभन्दा बढी रहेको उखुखेती चार वर्षअघि घटेर ५–६ हजार बिघामा सीमित भए पनि अहिले करिब ९ हजार बिघामा उखु खेती भइरहेको छ।

कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार सरकारले उखुको मूल्य ६२० रुपैयाँ र ७० रुपैयाँ अनुदान गरी प्रतिक्विन्टल ६९० रुपैयाँ कायम गरेको छ। किसानहरूले ७५० रुपैयाँ मूल्य माग गरेका थिए, तर लागत अनुसार कम भएकोले उनीहरूको गुनासो छ।

उद्योगले तौल भएको दुई साताभित्रै भुक्तानी दिने व्यवस्था गरेको जनाएको छ। हालसम्म फागुन २६ गतेसम्म तौल भएका २६ लाख ३२ हजार क्विन्टल उखुको करिब १ अर्ब ६२ करोड रुपैयाँ १ हजार १७४ किसानको बैंक खातामा भुक्तानी भइसकेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय