बर्दिया,१० चैत । बर्दियामा लागूऔषध कारोबारविरुद्ध भएको प्रदर्शनका क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ। अवस्था नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ।
गुलरिया नगरपालिका–११ गणेशपुरमा स्थानीयले नेपालगन्ज–गुलरिया सडक अवरुद्ध गरेपछि सडक खुलाउन पुगेको प्रहरी टोलीसँग झडप भएको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार प्रदर्शनकारीले ढुंगामुढा गरेपछि बल प्रयोग गर्नुपरेको हो। झडपमा नेपाल प्रहरीका ७ र सशस्त्र प्रहरीका ३ जना गरी १० जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेमध्ये प्रहरी सहायक हवलदार सन्तोष विकको अवस्था गम्भीर रहेको छ र उनको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको छ।
दुई युवकको मृत्युपछि आक्रोश स्थानीयका अनुसार लागूऔषधको ‘ओभरडोज’ का कारण गुलरिया–११ का सुरेश खटिक र बोहरन खटिकको मृत्यु भएपछि आक्रोशित स्थानीय आन्दोलनमा उत्रिएका हुन्।
युवाहरूको मृत्युको कारणबारे भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र पुष्टि हुने प्रहरीले जनाएको छ। स्थानीयहरूले भारतबाट अवैध रूपमा भित्रिने ब्राउन सुगर, कोरेक्स लगायतका लागूऔषध नियन्त्रण गर्न नसकिएको भन्दै सीमा नाका बन्द गर्नुपर्ने माग गरेका छन्।
गुलरिया–११ का पूर्व वडाध्यक्ष रामनारायणप्रसाद केशरीले सीमावर्ती भारतीय बजार लौकाही लागूऔषधको केन्द्र बन्दै गएको भन्दै कडाइ गर्नुपर्ने बताएका छन्।




